Blog

खुट्टा सुन्निएमा (Edema) के गर्ने

blog-detail-img

खुट्टा सुन्निएमा (Edema) के गर्ने

खुट्टा सुन्निनुको कारणहरु

|
  Dec. 16, 2020
55306
Views

Click here to download mobile App

खुट्टा सुन्निनु (Edema) एउटा साधारण (Common) समस्या हो । यसको कारण अति सरल (Simple) देखि अत्यन्तै जटिलसम्म हुन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने, तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ । खुट्टाको हड्डी (Shin) वा गोलीगाँठो (Ankle) भन्दा माथि औलाले थिच्दा सुन्निएको भए चित्रमा देखाए जस्तै खाल्डो देखिन्छ ।  यसरी Edema भएको थाहा हुन्छ । औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ । सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गार्हो हुन सक्छ । जुत्ता लगाउदा गार्हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदि खुट्टा सुन्निएको कारणले हुन सक्छ । 

एउटा खुट्टा सुन्निए पछि के गर्ने ?

सामान्यतया दुइटै खुट्टा सुन्निन्छ, तर कहिलेकाँही एउटा खुट्टा कम सुन्निएको हुनसक्छ । विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निन्छ । एउटा खुट्टा मात्रै सुन्निएको छ भने, तुरुन्तै कारण पत्ता लगाउनु पर्छ । खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ । यसलाई डीप भेन थ्रोम्बोसीस (Deep Vein Thrombosis,  DVT) भनिन्छ ।  रक्तनलीमा रगत जमेर (Clot) रक्तसञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ ।

खुट्टा सुन्निने के के कारण हुन सक्छन् ?

खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन् । मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि महत्वपुर्ण कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसकोलागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ ।

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

कहिलेकाँही खुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ । जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनु पर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तै;  १. सवारि चालक २. गार्ड आदि । यसकोलागि पिर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुँदैन । औषधिको कारणले पनि खुट्टा सुन्निन सक्छ । एम्लोडिपिन औषधीको प्रयोग र मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । औषधी परिवर्तन गरेको १२ हप्तामा सुन्निएको घट्छ । यसरी औषधिको प्रयोगले खुट्टा सुन्निएमा आत्तिनु हुदैन ।   

१)          मुटु                   : मुटु कमजोर हुनु (Heart Failure), उच्च रक्तचाप र भल्भको रोग

२)         फोक्सो             : दमको रोग (COPD)

३)          मृगौला               : मृगौलाबाट प्रोटिन निस्कने रोगहरु (Chronic Kidney Disease, CKD) मृगौलाको काममा कमि (Kidney Failure)

४)         उच्चरक्तचाप      : मुटुमा असर भएपछि

५)         थाइराइड           : हाईपोथाइराइडीजम् (थाइराइडको कमि)

६)         गर्भावस्था           : सामान्य अवस्था, उच्चरक्तचाप र अन्य रोग लागेमा 

७)        औषधी              : रक्तचाप नियन्त्रण गर्ने औषधिहरु; एमलोडिपिन, निफेडेपीन

मुटु वा मृगौलाको कारणले सुन्निएको कसरी थाहा पाउने ?

मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दैजादा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ । तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ । मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ । बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ । खुट्टा संगसंगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो (Facial Puffiness) भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ । तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ । त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ ।

निम्नलिखित जाँचहरु गर्नुपर्नेः

१) मुटु –  इ.सि.जी., एक्सरे, इकोकार्डियोग्राफी

२) मृगौला – क्रियेटिनिन् (Creatinine), पिसावको जाँच

३) थाइरायड – TSH, T3 T4

४) कलेजो –   प्रोटिन, एल्बुमिन

५) रक्तनली – अल्ट्रसाउण्ड

खुट्टामा सुन्निएको कम गर्न अरु के गर्न सकन्छि ?

गुरुत्वाकर्षण (Gravity) को कारणले खुट्टाको रक्तनलीमा दबाब बढी हुन्छ । त्यसैले खुट्टामा Edema हुने संभावना बढी हुन्छ । तसर्थ सकेसम्म बस्ने बेलामा खुट्टालाई टेबुलमा राख्ने र सुत्ने बेलामा खुट्टालाई एउटा सिरानीको माथि राख्नु राम्रो हुन्छ । यसबाट खुट्टा सुन्निएको कम हुन्छ ।

खुट्टा सुन्निन कम गर्न पिसाब बढी लगाउने औषधिको आवश्यकता ?

खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी (लेसीक्स) सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन । यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ ।

खुट्टा सुन्नियो भने कसलाई जचाउने ?

खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हुदैन । खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण (जस्तै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाव कम हुनु) नहुनु लाई जटिल समस्याको रुपमा मानिदैन । यस्तो अवस्थामा जटिल कारण हुने सम्भावना कम हुन्छ । यसकोलागि योजना बनाएर डाक्टरलाई जचाँउन मिल्छ । तर माथि लेखेको कुनै समस्या पनि भ्मझब संगसंगै छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ । सामान्य चिकित्सक (General Physician)संग प्रारम्भिक जाँच गराउँदा राम्रो हुन्छ । प्रारम्भिक जाँच पड्तालमै रोग देखिएमा सम्बन्धित विषयको विशेषज्ञलाई भेटन मिल्छ । सामान्य चिकित्सक संगै उपचार गराए पनि हुन्छ । तर धेरैजसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकोले मुटुरोग विशेषज्ञलाई भेटनु पर्ने जरुरी हुन्छ । मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ । प्रारम्भिक जाँचमै (पिसाव र मृगौला) मृगौलामा खराबी देखिएमा  नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेट्नु जरुरी हुन्छ ।

 

डा. ओम मूर्ति अनिल

http://www.nationalcardiaccentre.com