Blog

युरिक एसिड र गाउटको लक्षण र समाधान

blog-detail-img

युरिक एसिड र गाउटको लक्षण र समाधान

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
3690
Views

Click here to download mobile App

हामीले खाएको खानाबाट प्रोटीनको शरीरमा पाचनक्रिया पश्चात बन्ने विभिन्न बिकारहरु मध्ये युरिक एसिड पनि एक हो । शरीरमा बन्ने युरिक एसिड मृगौला भएर पिसाबको माध्यमले शरीर बाहिर निस्कन्छ । प्रोटिनहरु मध्ये विशेष गरेर प्यूरिन बाट एसिड बन्ने गर्दछ । अर्थात प्यूरिन बढी भएको खानाको प्रयोग गरेमा शरीरमा युरिक एसिडको मात्रा पनि बढ्ने सम्भावना हुन्छ ।एउटा स्वस्थ व्यक्तिमा पनि युरिक एसिडको उत्पादन भएपनि मृगौलाबाट निस्किन सक्ने भएकाले रगतमा युरिक एसिडको स्तर नियन्त्रणमा हुन्छ । 

युरिक एसिडको निष्कासनमा समस्या भएमा रगतमा यसको स्तर बढ्न सक्छ । धेरैजसो व्यक्तिमा युरिक एसिडको निस्कासन प्रक्रिया जेनेटिकमा आधारित हुन्छ । थोरै प्रोटिन युक्त खाना खाने व्यक्तिको युरिक एसिड बढी देखिनु र बढी खानेको युरिक एसिड सामान्य हुनु वंशानुगत तथ्यमा आधारित हो । अर्थात् खानामा प्रोटिन जति भएपनि मृगौलाको निस्कासन प्रक्रियाले युरिक एसिडको स्तरलाई निर्धारित गर्न प्रमुख भुमिका खेलेको हुन्छ । 

त्यसै गरी प्रोटिनयुक्त खानाको अत्याधिक सेवन गरेमा पनि रगतमा युरिक एसिडको स्तर बढ्न सक्छ । अर्थात् अत्याधिक प्रोटिनयुक्त खानाको सेवन वा युरिक एसिडको निष्कासनमा समस्याले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न सक्छ ।

हाइपर युरिसेमिया र गाउट
रगतमा युरिक एसिडको स्तर बढी हुनुलाई हाइपर युरिसेमिया भनिन्छ । यसले जब शरीरमा असर गरेर जोर्नी दुख्ने अवस्थाको सिर्जना गर्छ, त्यो अवस्थालाई गाउट भनिन्छ । अर्थात युरिक एसिड, हाइपर युरिसेमिया र गाउट तिन फरक कुराहरु हुन् । कहिलेकाहिँ युरिक एसिडको स्तर सामान्य भएर पनि गाउटको लक्षणहरु देखा पर्नसक्छ । सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि.ग्राम प्रतिशत भन्दा कम हुनपर्छ । त्यसै गरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि.ग्राम प्रतिशत भन्दा कम हुुनुपर्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

हाइपर युरिसेमिया र आउटका लक्षणहरु
हाइपर युरिसेमियाको प्रायः केही लक्षणहरु हुँदैन । रगतको जााँच गरेको बेलामा मात्रै युरिक एसिड बढेको थाहा हुनुसक्छ ।लामो समयसम्म युरिक एसिडको स्तर बढी भएमा मृगौलामा पत्थरी बन्ने सम्भावना हुन्छ । हाइपर युरिसेमियाको उच्च रक्तचाप, मोटोपना र मुटु सम्बन्धी रोगहरुसंग पनि सम्बन्ध रहेको तथ्य रिसर्चबाट थाहाहुन्छ । तसर्थ हाइपर युरिसेमियाले दुरगामि रुपमा जोर्नीलाइ मात्र असर नगरी, शरीरका महत्वपूर्ण अंगहरुमा समेत दुष्प्रभाव देखाउन सक्छ । गाउटको दुखाई अचानक सुरुहुन्छ । विशेषतः राति सुतेको बेलामा दुखाईले गर्दा बिरामीको निद्रा टुट्छ । 

दुखाइकाे तिब्रता पहिलो २४ देखि ४८ घण्टामा अत्याधिक हुन्छ । जोर्नी रातो, तातो र सुन्निएको हुन्छ । खुटट्को बुढी औला बाहेक अन्य जोर्नी, माशपेशीमा पनि यसको असर देखिन सक्छ । युरिक एसिड बढी भएमा जार्नीहरुमा यसको क्रिष्टल थुप्रेर गाउटको दुखाई सुरुहुने मान्यता छ । जाेर्नीबाट पानी तानेर, यही युरिक एसिडका क्रिष्टलहरु भए नभएको जाँच गर्ने गरिन्छ ।

हाइपर युरिसेमिया र गाउटका कारणहरु

– मदिरा, 

– मृगौलाको समस्या, 

– मोटोपना, 

– औषधी,

– प्राटिन युक्त खाना , 

– बशानुगत, 

– थाइराइड र 

– रगतका समस्या आदि ।

युरिक एसिड र गाउटका बिरामीले ध्यानदिनुपर्ने कुराहरु
युरिक एसिड बढी भएको वा गाउट भइसकेको बिरामीले जीवनशैलीमा सुधार ल्याई यसको मात्रालाई नियन्त्रणमा ल्याउनुपर्छ । मदिराको सेवन बन्द तथा मांसाहारी खानेकुराको प्रयोग कम हुनुपर्छ । शाकाहारी खानामा पनि गेडागुडी कम खानुपर्छ । दुध र दहीले युरिक एसिडको स्तरलाई नियन्त्रण राख्छ । शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी खानुपर्छ ।

डाक्टरको सल्लाह अनुसार युरिक एसिडको स्तर घटाउने औषधीहरुको नियमित प्रयोग गनुपर्छ । गाउटको दुखाईको बेलामा युरिक एसिडको स्तर कम गर्न औषधी प्रयोग गर्न मिल्दैन । यस्तो बेलामा दुखाई कम गर्न मात्रै औषधी प्रयोग गरिन्छ र पछि युरिक एसिडको स्तर घटाउने औषधी लामो समयसम्म खानुपर्ने हुन्छ । खानामा भिटामिन ‘सी’को प्रयोगले युरिक एसिडको स्तर घटाउन सकिन्छ । मोटो व्यक्तिले आफ्नो तौललाई यथासम्भव घटाउन खोज्नुपर्छ । उच्च रक्तचाप र मुटुरोगमा प्रयोग गरिने औषधीहरुले पनि युरिक एसिडको स्तर बढाउन सक्ने हुनाले यस्ता औषधीको प्रयोग नगर्दा राम्रो ।

खानामा नियन्त्रण गर्नु नै युरिक एसिड नियन्त्रणको सर्वोतम उपाय हो ।