Blog

हार्ट अटेकको जोखिम यसरी पत्ता लगाउनुहोस्

blog-detail-img
|
  Jan. 4, 2021
5158
Views

Click here to download mobile App

ह्दयाघातका धेरै कारणहरु हुन्छन ।  त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART) को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ । 

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई ह्दयाघातको खतरा बढी हुन्छ । 

त्यसैगरी पुरुषलाई ह्दयाघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा ह्दयाघात कम हुने गरेको पाइन्छ ।

वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज ह्दयाघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा ह्दयाघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेकाही ह्दयाघातको कारण पत्ता नलाग्न पनि सक्छ ।

लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा ह्दयाघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् । 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

ह्दयाघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, ह्दयाघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, ह्दयाघातको खतरा झन बढी हुन्छ । 

  1. 1. के तपाई धुम्रपान गर्नुहुन्छ ?
  2. 2. के तपाईलाई मधुमेह छ ?
  3. 3. के तपाईलाई उच्च रक्तचाप छ ?
  4. 4. के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
  5. 5. के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
  6. 6. के तपाईको आमा बुबा, दिदीबहिनी वा दाजुभाईलाई ह्दयाघात भएको छ ?
  7. 7. के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
  8. 8. के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?

धुम्रपानः धुम्रपानले ह्दयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, ह्दयाघातको खतरा त्यति नै धेरै हुन्छ । 

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट बिडीको सेवन गरेमा ह्दयाघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः  उच्च कोलेस्ट्रोलले ह्दयाघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरै हुन्छ, ह्दयाघातको खतरा पनि त्यति नै बढी हुन्छ । 

युवा अवस्थामा देखिने ह्दयाघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले ह्दयाघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । 

मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा ह्दयाघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा ह्दयाघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा ह्दयाघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई ह्दयाघात भएकोः आमा बुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्ष भित्र) ह्दयाघात भएको छ भने, अन्य सदस्यालाई पनि ह्दयाघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि ह्दयाघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि ह्दयाघात निम्त्याउन सक्छ ।

 डिप्रेसनले पनि ह्दयाघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु  छन् भने, ह्दयाघातको खतरा धेरै गुणा बढी हुन्छ । 

यदी तपाईं सँग यस्ता केही जोखिम हरु छन् र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भने हार्ट अटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खानपिन , जीवन शैली  वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाए मानिन्छ  ।