Blog

उच्च रक्तचापका विरामीले डाक्टरसंग गर्ने ५ प्रमुख प्रश्न र त्यसका उत्तर

blog-detail-img
|
  April 17, 2022
1535
Views

के मैले औषधि खानु जरुरी छ ?
शरीरको अंगहरुमा रक्तचापको असर परिसकेको छ भने, औषधि खानु अनिवार्य हुन्छ । हिजोआज प्रयोग गरिने अधिकांश औषधिहरुको खासै साइड इफेक्ट हुँदैन । औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्त्वपूर्ण अंगहरुलाई बचाउँछ । त्यसैले औषधि नखाने मानसिकता गलत हो । मेरो बिचारमा यदि रक्तचाप १४०/९० भन्दा बढी छ र जीवनशैलीमा परिवर्तन गरेपनि BP कम भइरहेको छैन भने चिकित्सको सल्लाहअनुसार निर्धक्कसँग औषधि खान शुरु गर्नुपर्छ । औषधि खाँदा अलिकति आर्थिक नोक्सान त हुन्छ, तर अमूल्य स्वास्थ्यलाभ पनि प्राप्त हुन्छ । पहिलो पटकमै BP नाप्दा अत्यन्तै धेरै रक्तचाप देखियो भने पनि औषधि खानु पर्ने हुनसक्छ ।


एकचोटी औषधिको प्रयोग गर्न थालेपछि, छोड्न मिल्छ कि मिल्दैन ?
जीवनशैलीमा परिवर्तन गरेपछि रक्तचापमा कमी आउन सक्छ । यसको फलस्वरुप औषधिको मात्रा घटाउनु पर्ने हुनसक्छ । यदि तपाईलाई मोटोपना, धुम्रपान, मदिराको सेवन, शारीरिक गतिविधिमा कमी जस्ता कारणहरु छन् भने यसको नियन्त्रण गरेपछि रक्तचाप घटन सक्छ। कसैकसैको रक्तचाप घटेर औषधि बन्दै गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अथार्त रक्तचापका कारणहरुलाई नियन्त्रण गरेमा औषधिको मात्रा घटाएर बन्दै गर्न मिल्ने हुनसक्छ ।

औषधि शुरु गरेपछि कतिदिनसम्म खानुपर्छ ?
रक्तचाप नियन्त्रणकोलागि प्रयोग गरिने औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । त्यसैले एकपटक सम्पूर्ण जाँच गरेर मात्रै रक्तचाप नियन्त्रणको लागि औषधिको प्रयोग गर्ने निणर्य लिनुपर्छ । औषधि खान सुरु गरिसकेपछि कम्तिमा ६ महिना वा १ वर्षसम्म अनिवार्य रुपमा नै प्रयोग गर्नुपर्ने भएकोले आफ्नो इच्छा अनुसार खाने वा नखाने गर्नु हुदैन ।
उच्च रक्तचापको औषधि शुरु गरेपछि कम्तिमा एक एक महिनाको औषधि किन्नु पर्छ र एक हप्ताको औषधि बाँकी हुँदै फेरि अर्को महिनाकोलागि औषधि किनिहाल्नु पर्छ । किनभने एक दिन पनि नबिराइकन औषधि खाँदा स्वस्थ्यलाभ बढी हुन्छ ।औषधि लामो समयसम्म खानुपर्ने भो भनेर चिन्ता गर्नु ब्यर्थ हो । किनभने औषधिले तपाईलाई स्वास्थ्य लाभ नै दिन्छ, नोक्सान गर्दैन ।


औषधि कुन बेला र कति पटक खानुपर्छ ?
कुन औषधिले कति समयसम्म काम गर्छ भन्ने तथ्यको आधारमा नै दिनको एक वा दुई पटक खानुपर्ने हुनसक्छ । एम्लोडिपिन, एटिनोलोल, हाइड्रोक्लोरथाइजाइड जस्ता औषधिहरु विहान र लोसार्टन, टेलमिसार्टन, इनालाप्रिल, प्राजोसिन जस्ता औषधिहरु राति सुत्ने बेलामा खाँदा राम्रो हुन्छ । उच्च रक्तचापका यी सबै औषधि खाना पछि मात्रै खानु पर्छ । औषधि सकेसम्म प्रत्येक दिन एउटै समयमा खाने गर्नुपर्छ र दुई चोटी खानु पर्ने औषधि १२ घण्टाको फरकमा खाँदा राम्रो हुन्छ ।

औषधिको प्रयोग गरेपनि रक्तचापको नियन्त्रण नभएमा भने के गर्ने ?
सबै व्यक्तिलाई एकै औषधिको प्रयोगले रक्तचाप नियन्त्रण हुन्छ भन्ने जरुरी छैन । कसैकसैलाई ३ वटा औषधिको प्रयोगले पनि रक्तचाप नियन्त्रण नहुन सक्छ । यसलाई Resistant Hypertension भनिन्छ । औषधि खाएर पनि BP को नियन्त्रण नहुनु राम्रो होइन । औषधिको प्रयोगले BP नियन्त्रण हुनै पर्छ । यस्तो भएमा मात्रै औषधिले फाइदा गरेको मानिन्छ । औषधिको प्रयोग पछि पनि यदि कसैको रक्तचाप नियन्त्रण भइरहेको छैन भने यसको कारण पत्ता लगाउनु पर्छ । निम्न लिखित कारणहरु छ कि छैन पत्तालगाइ सो को समाधान गर्नु जरुरी हुन्छ ।